२२ असोज ०७४, काठमाडौं । परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)का सदस्यबीच भेटवार्ता भएको छ ।

आइतबार परराष्ट्र मन्त्रालयमा समूहका नेपालका संयोजक डा.भेषबहदुर थापा र भारतका संयोजक भगतसिंह कोश्यारीसहितका सदस्यले परराष्ट्रमन्त्रीलाई समूहको पाँचौं बैठक र हालसम्मको प्रगतिबारे जानकारी गराएका हुन् ।
उनीहरुले समूहको छैटौं बैठक भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर ११ र १२ मा हुने जानकारी गराएका थिए । बैठकमा दुई पक्षले आ-आफ्ना सरोकार तथा चासोका विषयहरु स्पष्टसँग राखेको बताए ।
भेटमा परराष्ट्रमन्त्री महराले नेपाल-भारतसम्बन्धलाई नयाँ उचाईँमा पुर्याउन प्रबुद्ध समूहमा भएको छलफलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
काठमाडौँमा सम्पन्न पाँचौ बैठकबारे जानकारी गराउँदै समुहका नेपाल संयोजक थापाले नेपाल-भारतको सम्बन्धका सबै विषयमा खुलारुपमा छलफल भएको र तोकिएको समयमै सकारात्मक निष्कर्ष आउने बताए ।
त्यस्तै समूहका भारततर्फका संयोजक कोश्यारीले काठमाडौँमा सम्पन्न दुई दिने बैठकमा नेपाल-भारत सम्बन्धका विविध विषयमा भएको छलफलले दुई देशबीचको सम्बन्धलाई थप उचाईँमा पुर्याउने विश्वास व्यक्त गरे ।













