५ बैशाख ०७४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकार र राजनीतिक दललाई आयोगसँग परामर्श नगरी चुनावबारे नयाँ निर्णय नगर्न चेतावनी दिएका छन् ।

प्रमुख आयुक्त यादवले मंगलबार सम्पादकहरुसँग भएको छलफलमा आयोगसँग परामर्श नगरी चुनावको मिति सार्ने वा कुनै नयाँ निर्णय गरे मान्य नहुने चेतावनी दिएका हुन् ।
‘निर्वाचन आयोगसँग परामर्श मात्रै कुनै किसिमको मिति सार्ने वा अन्य कुनै स्टेप चाल्नुहोला अन्यथा मान्य हुँदैन ।’ प्रमुख आयुक्त यादवले भने, ‘असहमति अन्तिम समयसम्म रहन्छ तर मतदाताको मतदान गर्ने अधिकारलाई कसैले अवरोध पुर्याउनु हुँदैन ।’
प्रमुख आयुक्त यादवले आयोगले बैशाख ३१ मा देशभर एकसाथ चुनावको सबै तयारी गरिरहेको भन्दै राजनीतिक सहमतिको नाममा मिति नसार्न सरकारलाई आग्रह गर्दै चुनावका लागि सरकारलाई खबरदारी गर्न सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेका छन् ।













