“हाम्रो काम यो होइन् कि हामीले मजदुरहरुलाई आन्दोलन कसरी गर्नुपर्छ भनी सिकाउने या हामीले आन्दोलनको अवधारणा उनीहरुका सामु प्रस्तुत गर्ने । हाम्रो काम यति हो कि हामीले यस्तो भाषाको सिर्जना गरौं, जुन अनिवार्य राजनीतिक यथार्थलाई स्पष्टसित उनीहरुको माझमा राख्न सकौं, हरेकमा पु-याउन सकौं ।”
यो भनाई विश्वकै सम्मानित नोवेल साहित्य पुरस्कार लिन अस्विकार गरी नयाँ हलचल नै मच्चाएका फ्रान्सेली नव वामपन्थ साहित्यकार पाउल जाँ सार्त्रको हो ।
हामीभित्र यस विपरीत अवस्था सृर्जना भएरहेको छ । आदेश आए काम गर्ने नत्र माथिबाट केही आएको छैन् भनेर हात बाँधेर बस्ने । सिर्जनशील क्षमतामा ह्रास हुँदै गइरहेको प्रष्ट देखिन्छ । आफ्नो सृर्जनशीलतामा केही नगर्ने बानी निकै डरलाग्दो गरी हुर्किंदै छ ।
आफ्ना कमीकमजोरी छोप्नका लागि अरुलाई दोष देखाएर उम्कने, आफू भने गुटगत मानसिकता ग्रसित भई सधैं गुटमै डुबिरहने प्रवृत्तिले आफैँलाई सिध्याउछ । अरुलाई गुट ग-यो भनेर आरोप लगाउने तर आफैँ गुटको दलदलमा फस्ने प्रवृत्तिको अन्त्य गर्न आफैँबाट पहल गर्नुपर्छ गुटीय प्रवृत्ति र वबैचारिक मन्थनलाई एउटै डालोमा राखेर हेर्नु अर्को घातक प्रवृत्ति हो ।
संगठनमा नेतावाद पनि डरलाग्दोे विषय हो । पछिल्लो समय नेतावाद हावी हुँदै गइरहेको छ । नेतृत्व गर्नुपर्छ तर नेतावादी बन्नु हुँदैन् । नेता होइन् सेवक बन्नुपर्छ । किनभने नेतावाद ‘अवसरवाद’ हो । आफू नेता बनिरहन जे पनि गर्ने प्रवृत्ति क्यान्सरको रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जन्मिएको देखिन्छ । त्यसको असर सबैतिर पर्ने खतरा उत्तिकै देखिन्छ । जसले (नेतावाद)ले जनताबाट क्रमशः कटाउँदै लैजान्छ भने आलोच्य र अपाच्य बनाउँदै लैजाने अन्ततः नेताको साखलाई धुलिसात बनाउँछ ।
सार्त्रले भनेका छन्, ‘सिर्जनशील हुन सिक । समस्याको समाधान गर्न सिक । तिम्रो आन्दोलनलाई कुनै बुद्धिजीवीले निर्देशन गर्ने होइन् खुद तिमीले गर्नुपर्छ । जुनबेला जान्दैनथ्यौ त्यो बेला बुद्धिजीवीवर्गको सहयोग लिनु सही कुरा हो । तर, हर्दम त्यसरी भरपर्दा तिम्रो सिर्जनशील क्षमता घट्छ वा तिम्रो लागि सोचिदिने योजना बनाई दिने आन्दोलन गर्ने तरिका सिकाउने अन्तैतिरबाट आयात भइरहन्छ भने तिमी खेताला सिवाय केही हुन्नौ ।’
दशकौं आन्दोलनमा हेलिएको छ तर सिर्जनशील चेतना शून्य रहनुको कारण के हो ? के नेपाली मजदुर आन्दोलनको बिडम्बना यही हो त ? पक्कै होइन् ।
सबैमा त्यो रोग छैन्, केहीमा यो रोगले यतिसम्म जरो गाडेको छ कि माथिको निर्देशन बिना सिन्को पनि भाँँच्न खोज्दैन । यसको अर्थ उसले जानाजानी संगठनलाई घात गरिरहेको प्रष्ट छ । सामान्य ‘एबीसीडी’ योजना बनाएर लागू गर्न नसक्ने, सर्कुलर बमोजिमको योजना बनाएर लागू गर्न नसक्ने, योजनालाई कहिल्यै लागू नगर्ने, कुरा क्रान्तिको गर्ने जीवनशैली र व्यवहार प्रतिगामी हुने साथै बाउले घिउ खाएको फुईं लगाएर परिस्थितिलाई आत्मासात गर्न नसक्ने र परिआएको बेलामा नेतृत्व दिन नसक्नेहरुलाई समयले हुत्याइदिन्छ ।
मुलुक संघीय संरचना गइसकेको छ । संगठनका स्वरुप संघीय ढाँचामा नै बनेका छन् । कार्य क्षमता प्रदर्शन गर्ने पूर्ण अधिकार पाएको छ तर अधिकारको प्रयोग र काम भएको देखिदैन । सधैं केन्द्रलाई सत्तोसराप गरेर बस्ने अनि केन्द्रले यो गरेन, त्यो गरेन हामीले के काम गर्नु ? भन्नु बुझि नसक्नुको मानसिकता विकास भइरहेको देखिन्छ । साथै, बिग्रियो र भत्कियोे भनेर चिच्याउने तर स्वयंले चाहिँ कहाँ कति बनायो र सच्यायो प्रतिवेदनमा कहिल्यै नआउनु, नल्याउनु बेइमानी हो ।
अतः वस्तुस्थितिलाई विश्लेषण गरी सिर्जनशील हुन सिकौं । आन्दोलनको लागि अरुको मुख नताकौं । आफैँ आन्दोलित हुन सिकौं । यतिबेला कोरोना महामारीले हामीलाई सिर्जनशील हुन र विकेन्द्रीत संघर्ष उठान गर्न सिकाइरहेको छ । तसर्थ केन्द्रको मुख नताकेर स्थानीय तह र प्रदेशस्तरबाट अधिकारका लागि संघर्षको उठान गरौं । जहाँ अधिकार कुण्ठित भएको छ, त्यहींबाट आन्दोलनको शुरुवात गरौं । पेशागत समस्यालाई केन्द्रमा राखेर छुट्टाछुट्टै संघर्षको शंखघोष गरौं । जसले संघीयताअनुरुप जिम्मेवारी साथै कर्तव्य बोध गराउने छ ।