२९ माघ, रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न रौतहट जिल्लाका कार्यालय प्रमूखहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले शनिबार दिउँसो जिंगहवामा नेपाल र भारतका मुस्लिम कविहरुको संयुक्त सम्मेलनलाई सम्बोधन गरिसकेपछि रौतहट जिल्लाका प्रमूखहरुलाई जनताले परिवर्तनको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले केही दिनभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिँदै जिल्लामा निर्वाचनको वातावरणका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन समेत दिए ।
‘संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको छ । सरकार स्थानीय तहको निर्वाचनमा जुटिसकेको छ’ प्रधानमन्त्रीले भने, ‘तपाईहरु पनि जिल्लामा निर्वाचनको वातावरण बनाउन आवश्यक प्रबन्ध गर्नुहोस् । निर्वाचनको वातावरण बनाउने र जनतालाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्नु तपाईहरुको दायित्व हो ।’
प्रधानमन्त्रीले कार्यालय प्रमूखहरुलाई आ–आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरुको निरीक्षण र निर्देशन गर्न आग्रह समेत गरे ।