परिवार दलद्वारा प्रदेश २ का विपन्न परिवारलाई राहत वितरण

२५ साउन ०७८, सिराहा । नेपाल परिवार दलले प्रदेश २ को आठै जिल्लामा कोभिड–१९ पीडित रहेका विपन्न परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

सिराहा जिल्लाको गोलबजारमा आइतबार आयोजित भेटघाट कार्यक्रममा परिवार दलका अध्यक्ष एकनाथ ढकालले मानवता सबैभन्दा ठूलो धर्म रहेको बताउँदै आफ्नो दलले प्रदेश २ को कोभिड–१९ पीडित विपन्न परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको जानकारी दिए ।

कार्यक्रममा पूर्वमन्त्री समेत रहेका परिवार दलका अध्यक्ष ढकालले नेपाल बहुसांस्कृतिक र विविधतायुक्त मुलुक रहेको बताउदै आपसी सदभाव, सहसम्मान र सहअस्तित्वले नै नेपाली राष्ट्रियता बलियो हुने बताए ।

यस्तै मानव अधिकारकर्मी श्याम कुमारी शाह र उत्तिम लाल मेमोरियल अस्पतालकी डाक्टर सुशिला सिंहले उपलब्ध खाद्य सामाग्रीले मधेशका अतिबिपन्न परिवारलाई ठूलो राहत मिलेको भन्दै धन्यवाद दिएकी थिइन् ।

दलका प्रवक्ता सन्तोष पौडेलका अनुसार विभिन्न सामाजिक संघ-संस्थाहरुको सहयोगमा प्रदेश २ को सबै जिल्लाका गरी करिब एक हजार घरपरिवारलाई एक महिनालाई पुग्ने गरी अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा राहत सामग्री वितरण गरिएको छ ।