२२ कार्तिक ०७४, काठमाडौं । नेपाल परिवार दलको केन्द्रीय कार्यसमितिको बैठकले आसन्न निर्वाचनका लागि ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

बुधबार दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले महामन्त्री बिनोद डाँगीको नेतृत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।
प्रवक्ता सन्तोष पौडेलले सातै वटा प्रदेशमा चुनावी सभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको जानकारी दिए ।
‘परिवार दलको आव्हान, सूर्यमा मतदान’ लगायतका नारालाई अघि सार्दै बैठकले आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न सरकारको ध्यानकर्षण गराउँदै आम नागरिकलाई उत्साहपूर्वक सहभागी हुन् अनुरोध समेत गरेको छ ।
परिवार दलले आफ्नो प्रतिबद्धतामा राष्ट्रियताको संरक्षण, संविधानको कार्यान्वयन, शान्ति, लोकतन्त्र र आर्थिक समृद्धि, भ्रष्टाचार निवारण र सुशासनलाई प्राथमिकतामा राखेको छ ।
त्यसैगरी असल परिवार र नैतिकवान समाज, सामाजिक सदभाव र मेलमिलाप, कृषि, उर्जा तथा औधोगिक विकास, सामाजिक सुरक्षा तथा गुणस्तरीय जीवन, लगानी मैत्री वातावरण, प्रेस स्वतन्त्रता र नागरिक अधिकार, वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन र युवा रोजगार तथा वाम प्रगतिशील गठबन्धनको घोषणा पत्रको कार्यन्वयन गर्ने पनि परिवार दलले प्रतिबद्धता जाहेर गरेको छ ।
प्रतिनिधि सभाको निर्वाचनमा परिवार दलका अध्यक्ष एकनाथ ढकाल एमालेको चुनाव चिन्ह सूर्यबाट समानुपातिक उम्मेदवार बनेका छन् ।













