१३ फागुन, काठमाडाैं । महाशिवरात्रिका दिन शुक्रबार बिहान साढे ३ बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ ।
यस वर्ष उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
दर्शनका लागि साढे ३ बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले जानकारी दिए ।
बिहान साढे २ बजेदेखि भक्तजनहरू दर्शनका लागि लाइनमा बसेका छन् । साथै, कोषले स:शुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । गत वर्ष सशुल्क दर्शनका माध्यमबाट कोषले ३५ लाख सङ्कलन गरेको थियो ।
महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र ४ सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
महाशिवरात्रिका अवसरमा शुक्रबार बिहानैदेखि देशभरका शिवालयमा पूजा एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ ।













