२८ असार ०७७, संखुवासभा । सिलिचोङ गाउँपालिका–१, बेसिन्दाको पहिरोमा फसेकाहरूको उद्दारमा खटिएका एक युवाको मृत्यु भएको छ ।
अबिरल वर्षासँगै आएको पहिरोले नौ घर बगाएपछि उद्दार गर्ने क्रममा बेहोस भएका २५ वर्षीय मदन राईको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रदेश प्रहरी कार्यालय प्रहरी उपरीक्षक दीपक पोखरेलले आइतबार बिहान २ बजे झरेको पहिरोमा फसेकामध्ये ७९ वर्षीय गोवासिंह राई, उनकी श्रीमती ६० वर्षीया फूलमाया राई, छोरी १४ वर्षीया भीमसरी राई र ५५ वर्षीय भीमबहादुर राईसहित पाँच जनाको उद्दार गरिएको छ ।
प्रदेश प्रहरीका अनुसार पहिरोमा परेर बेपत्ता हुनेहरूमा राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई र छोरीहरू २१ वर्षीया एन्जिला राई (गर्भवती) र ११ वर्षीया नम्रता राई रहेका छन् ।
यस्तै स्थानीय जुद्धबहादुर राई गोठमा गएको बेला आएको पहिरोले उनकी श्रीमती ६५ वर्षीया गोरीमाया राई र छोरी २२ वर्षीया प्रकृति राई बेपत्ता छन् भने अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने), उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई, ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज र उनकी श्रीमती ८२ की आइतमाया राई, सन्दीप राई र सुभधन राई समेत अहिलेसम्म सम्पर्कमा नरहेको प्रहरीले बताएको छ ।
प्रहरीले हराइरहेकाहरुको खोजीकार्य जारी रहेको बताएको छ ।













