पहिरो जाने सम्भावित स्थानका नागरिकलाई बैकल्पिक व्यवस्था गर्न नेकपा अध्यक्ष प्रचण्डको आग्रह

२८ भदौ ०७७, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएराति सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका –७ घुम्थाङको नागपुजेमा गएको पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी कार्यलाई तीब्रता दिन आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले आइतबार शोक वक्तव्य जारी गरेर ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सरकारसँग बेपत्ताको खोजी कार्यलाई तीब्रता दिन जोखिममा रहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबास गर्न आग्रह गरेका हुन् ।

“सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं.–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिबार राति गएको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख लागेको छ,” शोक वक्तव्यमा उल्लेख छ, “उक्त दुर्घटनामा ६ जनाको शव फेला परेको छ भने बाँकी २४ जना अझै हराइरहनुभएको छ । पहिरोले १५ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् । यस दुःखद् क्षणमा पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसहित सम्पूर्ण नागरिकहरुमा अनुरोध गर्दछु ।”

“शोकको यस घडीमा पहिरोमा परी निधन हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु, वक्तव्यमा उल्लेख छ, “पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी बैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु ।”