प्रधानमन्त्रीको दाबी : संविधानअनुसार नै मन्त्री थप, पाँच/सात दिनमा मन्त्रीपरिषद् घट्न सक्ने

२९ असोज ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार नै मन्त्री थप गरेको दाबी गर्दै ५/७ दिनमा घट्न सक्ने बताएका छन् ।

शनिबार व्यवस्थापिका संसदलाई अन्तिम सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री देउवाले मन्त्री संख्या धेरै भयो भनी नआत्तिन आग्रह गर्दै ५/७ दिनमा घट्न घट्न सक्ने बताएका हुन् ।

‘मन्त्री धेरै भए नभने हुन्छ, ५/७ दिनमा घट्न पनि सक्छ,’ विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीका व्यंग्य र प्रश्नले आक्रोशित देउवाले भने, ‘संविधानले दिएको अधिकार प्रयोग गर्न पाउनुपर्छ, हिजो राजालाई जस्तो राष्ट्रपतिलाई उचाल्नु भएन ।’

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मन्त्रिपरिषद विस्तारले चुनावमा कुनै फरक नपर्ने कुरा बताइसकेको भन्दै प्रधानमन्त्री  देउवाले भने, ‘अयोधीप्रति उच्च सम्मान, राष्ट्रपतिज्यू उचालिनुहुने छैन भन्ने विश्वास छ, सम्माननीय राष्ट्रपतिप्रति मेरो उच्च सम्मान छ ।’

प्रधानमन्त्रीले सम्बोधन गर्नु अघि संसदलाई सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले गरेको मन्त्री थप्ने काम आचारसंहिता विपरीत भन्दै आफूले राष्ट्रपतिलाई सोचविचार गर्न सुझाव दिएको कुरा बताएका थिए ।

प्रधानमन्त्री देउवाले ५/७ दिनमा मन्त्री घट्न सक्ने बताए पनि नेकपा माओवादी केन्द्रले भने वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकार पनि नछाड्ने बताएको छ ।

 

तपाइको मत