२१ कार्तिक ०८१, ललितपुर । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुँदैछ ।
कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको बताएका हुन् ।
कार्तिक नाच भगवान विष्णुका १७ कथासँग जोडिएको बताउँदै अध्यक्ष चित्रकारले भने, ‘यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ ।’
चित्रकारका अनुसार यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कार्तिक महिनामा चल्दै आएको छ भने सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ ।