पानी थाप्न पँधेरामै बास

काठमाडौं । ओखलढुंगा जिल्लाभर नै खानेपानीको अभाव बढेको आजको नयाँ पत्रिकामा खबर छ ।

जिल्लाका सबैजसो नगर तथा गाउँपालिकामा खानेपानीको समस्या बढ्दै गएको हो । २०७२ को भूकम्पपछि पानीको मुहान सुकेको र भएका मुहानहरु पनि यसवर्ष लामो समयको खडेरीले सुकेसँगै धारामा पानी आउन छाडेको रामपुरका स्थानीय भिष्मराज दाहालले बताए । ‘खानेपानीको साह्रै समस्या भयो’ पानी थाप्न लाईन गाग्री बोकेर बसेकाहरुलाई देखाउँदै दाहालले ठट्यौली गर्दै भने ‘जलस्रोतमा धनी हो कि हाम्रो देश गाग्रीमा धनी हो ? ।’ उनका अनुसार १ गाग्री पानी भर्न घण्टौं लाईनमा बस्नुपर्ने मोलुङ गाउँपालिका २ रामपुरका स्थानीयको बाध्यता छ ।

जिल्लाको चम्पादेवी गाउँपालिकामा पर्ने साविकको पलापु गाविसमा पनि पानीको चरम अभाव छ । ‘घरमा एक जनाको काम नै पानी थाप्ने हो हाम्रो त’ स्थानीय सुन्तलीमाया भन्छिन् ‘बिहान जुरुक्क उठेर पँधेरामा गयो फर्किँदा भात खाने बेला हुन्छ, फेरि बेलुकालाई पानीको जोहो गर्न लाग्नुपर्छ ।’ सुन्तलीमाया जस्तै स्थानीय दर्जनौँ घरपरिवारको समस्या उस्तै छ ।

सदरमुकाम सहित जिल्लाका सबैजसो स्थानमा खानेपानीको समस्या बढ्दै गएको छ । सिद्धिचरण नगरपालिका, माने भञ्ज्याँ गाउँपालिका, सुनकोशी गाउँपालिका र चम्पादेवी गाउँपालिका र मोलुङ गाउँपालिकामा खानेपानीको बढि समस्या रहेको पूर्णप्रसाद न्यौपानेले खबर लेखेका छन् ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका १ बलखुकी देवीमाया मगर बेलुकीको खाना खाएपछि गाग्री बोकेर घरबाट निस्किन्छिन् । राती करिब ९ बजे पानी थाप्न पधेँरामा पुगेकी देवीमाया भोलिपल्ट बिहान मात्रै घर फर्किन्छिन् । ‘धेरै भो घरमा बास बस्न नपाएको, एक गाग्री पानीका लागि पधेँरामै रात बिताउनुपर्छ’ गहभरि आँसुपार्दै नयाँपत्रिकासँग देवीमायाले भनिन् ‘पानी भर्दै गफ गर्दै रात बित्छ, ओड्ने लगेर त्यहीँ गाग्री बोक्ने डोकोमा पसेर पनि सुत्छौं, पानी भर्ने पालो नआउन्जेल ।’ स्थानीयका अनुसार बेलुका ८ बजे पँधेरामा पुग्नेको पालो बल्ल बिहान ४ बजे आउँछ । देवीमाया जस्त ५५ घर स्थानीयले खानेपानीको चरम अभाव झेलिरहेका छन् । साँझ बिहान २४ सै घण्टा भिरगाउँ नजिकै रहेको कुवा र त्यहाँको सानो धारामा पानी भर्ने भीड लाग्ने गरेको छ ।

पानी अभावले सरसफाई समेत गर्न नसकेको स्थानीय भक्तमाया मगर बताउँछिन् । ‘यहाँ खानकै लागि पानी छैन, नुहाउन र लुगा धुन त परकै कुरा भो ।’ उनी भन्छिन्– ‘ढुंगा, माटो, बालुवा, सिमेन्टको काम गर्नुपर्छ राती पानी थाप्न पधेँरोमा’ । भिरगाउँकी ७० वर्षीया नरिमाया मगरको पनि दैनिकी यस्तै छ । पानी थाप्न उनी आफैँ मुहानमा जान्छिन् । उनले भनिन्– ‘लौरो टेकेर म आफै पानी लिन जान्छु, घरमा कोही छैनन् आफैँ नगई हुँदैन, साह्रै दुःख पाईयो ।’

पानी अभावले पुनर्निर्माण प्रभावित
पानीको अभावले जिल्लामा पुननिर्माण समेत प्रभावित भएको छ । खानेपानीको समस्या भईरहेको ठाउँका स्थानीयलाई ट्याक्टरमा पानी बोकेर घर बनाउनुपर्ने बाध्यता छ । ‘यहाँ पानी छैन, पल्लो सिस्नेरी गाउँबाट बोकेर ल्याएको पानीले घर बनाउँदैछौं ।’ सुनकोशी गाउँपालिकाकी प्रमिला मगरले बताईन् । ड्रम र बातलमा ल्याएको पानीका भरमा घर बनाउँदा खर्च र झन्झट बढि भएको उनी बताउँछिन् ।

सुनकोशीको भिरगाउँमा अहिले गाउँमा एकै पटक २६ वटा भूकम्प प्रतिरोधी घरहरु बनिरहेका छन् । सबै घर बनाउन करिब ४ किलो मिटर पर पल्लो गाउँबाट पानी बोकेर ल्याउने गरिएको छ । पानी ओसार्दा र बालुवा किन्दा घरनिर्माण महंगो भएको भूकम्प प्रभावितहरुको भनाई छ । उनीहरुका अनुसार एउटा सामान्य २ कोठे घर बनाउन ५ लाख भन्दा बढि खर्च लागेको छ ।

पशु वस्तु बचाउन समस्या
जिल्लाको सुख्खा ग्रस्त क्षेत्रमा पशु बचाउन समस्या भएको छ । बोकेको पानीले मानिसका समस्या जेनतेन धानेको भएपनि पशुवस्तु बचाउन समस्या भईरहेको स्थानीय रामबहादुर मगर बताउँछन् । ‘गाउँमा खानेपानीको अभाव छ, मान्छेका आवश्यकता त जसोतसो पुरा भएकै छन्, बाँधेर पाल्ने पशु चौपायलाई बचाउन समस्या भयो ।’ रामबहादुरले भने । वनजंगलको विनासले पानीको मुहान सुक्न थालेको उनको बुझाई छ ।

समस्या समाधान गर्ने प्रतिवद्धता
गाउँमा पानीको अभाव बढ्दै गएको समस्याप्रति आफुहरुको ध्यान केन्द्रित भएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले बताए । ‘भिरगाउँमा पानी पुर्याउनु हाम्रो पहिलो प्राथमिकता हो, जसरी पनि पानीको व्यवस्थापन गर्छौँ ।’ अध्यक्ष अधिकारीले भने ‘मुहान देखि चुहान सम्म चाँडै काम अघि बढ्नेछ र एकसाथ समस्या समाधान हुनेछ ।’

चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले पनि पालिका भित्रका सबै स्थानमा देखिएको खानेपानी समस्या समाधानमा स्थानीय सरकार गम्भीर बनेको बताए । नयाँ आर्थिक वर्षको सुरु सम्ममा सबै समस्या समाधान गरीसक्ने उनले बताएका छन् ।

तपाइको मत