५ जेठ ०७६, काठमाडौं । ट्रेड युनियन महासंघ, नेपालका सह–संयोजक जगत सिंखडाले मजदुरको अगाडि शीर झुकाउने गरी आफूले कुनै पनि कार्य नगर्ने बताएका छन् ।
शनिबार पूर्वअखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले नवनियुक्त संयोजक र सहसंयोजकलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सह–संयोजक सिंखडाले यस्तो बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको बर्षगाँठका अवसरमा पार्टीले जनवर्गीय संगठनको एकता टुङ्गो लगाएको भन्दै प्रदेश सांसद समेत रहेका सहसंयोजक सिंखडाले भने, “जबसकाे एकता इकाइहरूसम्मको एकतापछि मात्रै टुङ्गिन्छ, तर एकताको महत्वपूर्ण पाटो नेतृत्वको सवाल टुङ्गिएको छ । पार्टीले मप्रति जुनविश्वास गरेको छ । श्रमिकहरूले जुन आशा–भरोसा गरेका छन्, नेपाली श्रमिकहरूका हक-अधिकार सुनिश्चित गर्ने सवालमा एक इन्च पनि चुक्ने छैन्, बरु म मेरो शीर कटाउन तयार छु ।’‘
‘यो संगठनमा एक जना पनि बेखुसी हुने छैनन्, चाहे त्यो अन्टुफ होस् चाहे त्यो जिफन्टबाट होस्, एकतामा एकजना पनि नछुट्ने र नेपाली ट्रेड युनियन आन्दोलनलाई सशक्त रुपमा उठाउने, नेपालको श्रम बजारलाई मर्यादित बनाउने, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, श्रम ऐनलाई कार्यान्वयन गर्ने अभिभारा पूरा गर्ने प्रतिबद्धता जनाउँछु’ नवगठित महासंघका सह–संयोजक सिंखडाले भने, ‘तर पार्टीको निर्णयविरुद्ध जाने छुट कसैलाई छैन्, यदि जान्छ भने उनीहरूलाई पार्टीले नै आवश्यक प्रक्रिया अगाडि बढाउने भएकाले त्यसबारे टिप्पणी गर्न चाहन्न ।’
आगलागी पीडितलाई ३५ हजार सहयोग
धापाखेलको आर.के.कार्पेटमा आगलागी भएपछि घटनास्थलको वस्तुस्तिथि बुझ्न घटनास्थल पुगेका सहसंयोजक सिंखडाले शनिबार पीडित श्रमिकहरूलाई ३५ हजार नगद सहयोग गरेका छन् ।
पूर्वअखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा महासंघ र पेशागत संगठनका नेतृत्वले संकलन गरेको उक्त रकम सह–संयोजक सिंखडाले अन्टुफको तर्फबाट हस्तान्तरण गरेका हुन् ।
उनले आगलागी भएको गलैँचा कारखाना सञ्चालकलाई बिमाबाट रकम लिने प्रक्रियामा केही अप्ठ्यारा आइलागे जनप्रतिनिधिको हैसियतले आवश्यक सहयोग गर्ने बताए ।
आगलागी पीडित श्रमिकहहरूलाई सहयोग रकम हस्तान्तरण गर्न सह–संयोजक सिंखडासँगै पूर्वअन्टुफ उपाध्यक्ष एसबी थापा, उपमहासचिव राजकुमार लामा, पसल मजदुरका अध्यक्ष भोषराज दाहाल, केन्द्रीय सदस्य राजन पाण्डे, गोमा लामा, होमबहादुर खड्का, शेरबहादुर तामाङ लगायतका नेता कार्यकर्ताहरू घटनास्थलमै पुगेका थिए ।


















