१३ भदौ ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र भएको भद्रगोलका कारण केन्द्रीय कार्यालय भंग गरिएको बताएका छन् ।
सोमबार विराटनगरमा १ नम्बर प्रदेशको पार्टी प्रशिक्षण कार्याक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा भद्रगोल भएकै कारण माथिबाटै घटुवाको प्रारम्भ गरेको बताएका हुन् ।
‘हामी विचार, राजनीति र नेतृत्वमा त जित्यौं । तर, संगठन र चुनावी परिणाममा जित्न सकेनौं, त्यसको मुख्य कारण संगठन भद्रगोल हुनु नै हो,’ प्रचण्डले भने, ‘त्यसैले पार्टीमा माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं । केन्द्रीय कार्यालय भंग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं । अब संगठनलाई चुस्त बनाएर अघि बढ्छौं ।’
भारतीय महावाणिज्य दूतावास नहट्नु दुर्भाग्यपूर्ण
पार्टीका प्रदेशस्तरीय नेता र कार्याकर्तालाई मात्र प्रवेश दिइएको गोप्य प्रशिक्षणमा प्रचण्डले विराटनगरमा रहेको भारतीय महावाणिज्य दूतावास नहट्नु दुर्भाग्यपूर्ण भएको बताए ।
आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा सरकारले गरेको निर्णय कार्यान्वयन नभएकोमा उनले दुःख व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा दिएको अभिव्यक्तिप्रति पनि दाहालले असन्तुष्टि जनाए । उनले भने, ‘संविधान संशोधनको एक चरणको प्रक्रिया सकिएकाले पुनः संशोधनकै विषयलाई लिएर भारतमा अभिव्यक्ति दिनु उपयुक्त होइन ।’
‘कोसी उच्च बाँध निर्माण गर्नेबारे माओवादीको धारणा पुरानै हो, यो सम्झौता पुनरावलोकन हुनुपर्छ,’ दाहालले भने, ‘देउवाजीले सहमति गरेको नभई संयुक्त वक्तव्यमा उल्लेख भएको मैले जानकारी पाएको छु, तत्कालै प्रधानमन्त्रीसँग छलफल गर्छु ।’