पार्टी एकता द्रुत गतिमा अघि बढाउने माओवादीको निर्णय

१८ पुस ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले पार्टी एकता प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ ।

मंगलबार दिउँसो अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको बैठकले वाम गठबन्धनको एजेन्डा र पार्टी एकतालाई आम जनताले अनुमोदन गरिसकेको भन्दै एकता प्रक्रियालाई गति दिने निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष दाहालले पार्टी एकता र सरकार गठनका विषयमा भइरहेको छलफल र गृहकार्यबारे जानकारी गराएका थिए ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् ।

यस्तै पार्टी एकता प्रक्रियाबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदल पनि बनाएको छ । कार्यदलमा नेताहरु टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल, सुनिल मानन्धर रहेका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता पम्फा भुसालले पार्टी एकता र सरकार गठनबारे कुनै समस्या नरहेको र एकताको आश्चर्यजनक नतिजा पाउने बताइन् ।

तपाइको मत