पार्टी एकता र कम्युनिष्ट आन्दोलनलाई केन्द्रमा राखेर बहसको सुरुवात गरिनु पर्दछ – मणि थापा

मणि थापा – स्थायी कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

३० बैशाख ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थगित स्थायी कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ ।

नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले भोलि ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिए ।

यसअघि यही महिनाको गएको २५ गते बस्ने गरी तय भएको नेकपाको स्थायी कमिटी बैठक तयारी नपुगेको भनेर स्थगित गरिएको थियो ।

नेता थापाले भोलि बस्ने स्थायी कमिटीको बैठक जनता, मतदाता साथै कार्यकर्ताले उठाएका प्रश्नहरुको हल दिने गरी पार्टी एकतालाई केन्द्रमा राखेर सुरुवात गरिनु पर्ने बताएका छन् ।

“राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा जनता, मतदाता साथै कार्यकर्ताले प्रश्न उठाएका छन्” नेता थापाले भने, “भोलि बस्ने स्थायी कमिटीको बैठक यी तीनै विषयलाई हल गर्ने गरी सुरुवात गरिनु पर्दछ । साथै, पार्टी एकता र कम्युनिष्ट आन्दोलनलाई केन्द्रमा राखेर बहसको सुरुवात गरिनु पर्दछ ।”

यस्तै नेता थापाले कोरोना महामारीका कारण लाखौैं श्रमिकहरु बेरोजगारी बन्न सक्ने सम्भाव्यतालाई केन्द्रमा राखेर सरकारले यस वर्ष आत्मनिर्भर कृषि प्रणाली, नयाँ रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षालाई विशेष महत्व दिई बजेट बनाउनु पर्ने पनि बताए ।

यस्तै पछिल्लो विकसित घटनाक्रमका सवालमा नेता थापाले नेपाली भूमि लिपुलेक क्षेत्रलाई समेटेर भारतले हालै उद्घाटन गरेको सडक मार्गका सवालमा भारतसँग गम्भीर छलफल गरेर यसपटक सीमा बिवाद हल गरिनु पर्नेमा जोड दिए ।

“लिपुलेक क्षेत्र त्रिदेशीय विन्दु पनि भएकाले मुख्यतः भारतसँग र त्यसपछि चीनसँग पनि संवाद हुनु पर्दछ,” नेता थापाले भने, “यसलाई लामो समयसम्म तन्काउनु हुँदैन् । सीमाका सवालमा दीर्घकालीन समस्या आउने हो भने अन्तर्राष्ट्रिकरण गर्दै बंगलादेशको मोडलबाट पनि सीमा समस्या हल गरिनु पर्दछ ।”