पीसीआर नमूना निजी प्रयोगशालालाई पनि जाँच्न दिइने

३२ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी प्रयोगशालाहरूलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको पीसीआर परीक्षण गर्न दिने बताएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको स्वीकृति लिई निजी प्रयोगशालाहरुलाई पीसीआर टेस्टका नमुना परीक्षण गर्न दिने बताएको हो ।

“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई, लिइएका पीसीआर टेस्टका नमुनाहरू अब आईन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबहरुलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ’ प्रवक्ता गौतमले भने, “यसको लागि लाग्ने खर्च नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ ।”

उनले विदेश जानको लागि आवश्यक पर्ने भिसा वा निरोगिता प्रमाणपत्रको लागि गरिने नमुना संकलन वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र पाटन अस्पतालको ल्याबमा गरिने व्यवस्था गरिएको पनि जानकारी दिए ।