डीपी गौतम/१३ जेठ ०७७, वीरगञ्ज । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, पर्साले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन सिफरिस गरेको छ ।
पीसीआर परीक्षणको रिर्पोट नआउँदै मृत्यु भएका बिरामीको शव दाहसंस्कार गर्न परिवारको जिम्मा लगाएको भन्दै वीरगञ्जस्थित उक्त अस्पतालमाथि अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
जेठ ४ गते मृत्यु भएका बारा, कलैया उपमहानगरपालिका ७ निवासी ७० वर्षीय व्यक्तिमा कोभिड १९ संक्रमण आशङ्कामा पीसीआर जाँचको लागि स्वाब सङ्कलन गरिएको तर रिपोर्ट नआउँदै दाहसंस्कार गर्नलाई शव आफन्तको जिम्मा लगाएको भन्दै कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख एवम् पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
अन्तिम संस्कार गरिसकेपछि ७० वर्षीय व्यक्तिमा कोरोना पोजिटिभ देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जेठ १२ गते जानकारी दिएको थियो ।