नेपालगन्ज । एक सातादेखि बढेको चिसो र शीतलहरबाट बच्न बाँकेका विभिन्न चोकमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
एक साता अघिबाट बाक्लो कुहिरो लाग्नुका साथै चिसो ह्वात्तै बढेपछि ग्रामीण क्षेत्रका विभिन्न चोकमा समेत स्थानीय नागरिकलाई स्थानीय तहले आगो ताप्ने व्यवस्था मिलाएको हो ।
लगातारको शीतलहरका कारण नागरिकलाई आवतजावत गर्न र काम गर्न कठिनाइ भएको भन्दै बाँकेको डुढुवा गाउँपालिका-६ ले चोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
जनताको दैनिकीलाई सहज बनाउन र चिसोका कारण यात्रा गर्न कठिनाइ परेकालाई लक्ष्य गरी वडा कार्यालयले बिहानको समयमा गाउँका चोकमा दाउरा बालेर लगातार हिरमिनियाको चोकमा आगो ताप्ने व्यवस्था मिलाइएको वडा सदस्य नेतराम मौर्यले जानकारी दिए ।
वडा नं. ६ को पहलमा हजरात सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको दाउरा सोमबारदेखि सार्वजनिक स्थानमा आगो ताप्न प्रयोग गरिएको छ ।
चिसोले बाटोमा ओहोर-दोहोर गर्नेदेखि स्थानीयलाई बढी असर परेको भन्दै आगो ताप्न दाउरा उपलब्ध गराइएको समितिका सचिव अर्जुन सिंहले जानकारी दिए ।
बीओपी कालाबञ्जर, इलाका प्रहरी कार्यालय हिरमिनिया र स्थानीय जनप्रतिनिधिको सहयोगमा आगो ताप्ने व्यवस्था मिलाइएको प्रहरी नायब निरीक्षक परशुराम केसीले जानकारी बताए ।
नागरिकलाई चिसोबाट बचाउन सरकारी तवरबाट आगो ताप्ने व्यवस्था मिलाइएको यो पहिलो पटक हो । वडा नम्बर ६ मा मात्रै नभई आवश्यकताअनुसार गाउँपालिकाका अन्य स्थानमा समेत आगो ताप्ने व्यवस्था मिलाइने डुढुवा गाउँपालिकाले जनाएको छ ।
ग्रामीण बस्तीका मानिस बिहानै काममा निस्कने भएकाले उनीहरूको माग आएमा सामुदायिक वनसँग समन्वय गरी दाउराको व्यवस्था मिलाएर अन्य ठाउँमा आगो ताप्ने वातावरण मिलाइने भएको छ ।
सबैभन्दा धेरै नागरिकको चहलपहल हुने नेपालगन्ज उपमहानगरले पनि चिसोबाट नागरिकलाई बचाउन आगोको व्यवस्था गरिने बताएको छ ।
उपमहानगरपालिकामा हालसम्म माग नआएको तर नागरिकले माग गर्नेबित्तिकै आगो ताप्ने व्यवस्था मिलाइने उपमहानगरपालिकाकी उपमेयर उमा थापाले बताइन् ।
‘नागरिक अगुवाले केही दिनअघि मात्रै चिसोबाट सर्वसाधारणलाई जोगाउन अगोको व्यवस्था गर्न माग गरेका थिए’, उनले भनिन्, ‘यस विषयमा जिल्ला वनसँग दाउरा व्यवस्थापनका लागि कुरा गरिसकेका छौं । नागरिकले आगो ताप्ने व्यवस्था गर्न माग गरेलगत्तै यो सुविधा दिन्छौं ।’













