२८ जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह, गृहमन्त्री कमल थापासहित करिब एक दर्जनबिरुद्ध बिहीबार सत्यनिरुपण तथा मेलमिलाप आयोगमा किटानी जाहेरी परेको छ ।
रामेछापको दोरम्बामा २०६० साल साउन ३२ गते ज्यान गुमाएका परिवारका पीडितहरुले बिहीबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा घटनाको दोषीलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका हुन् ।
दाङको हापुरेमा तत्कालिन नेकपा माओवादी र सरकारबीच बार्ता चलिरेको बेला नेपाली सेनाका मेजर राममणी पोखरेलको कमाण्डमा रहेको शाही सेनाले तत्कालिन माओवादी जिल्ला जनसरकार प्रमुख बावुराम लामासहित २२ जना माओवादी नेता–कार्यकर्ताको सामुहिक हत्या गरेको थियो ।
दोरम्बा हत्याकण्डका नामले चर्चित उक्त हत्याकाण्डका पिडीतहरुले बिहीबार तत्कालिन राजा ज्ञानेन्द्र शाह, प्रधानमन्त्री सुर्य बहादुर थापा, गृहमन्त्री कमल थापा, गृह–सचिव अनन्तराज शर्मा पाण्डे, सेनापती प्यारजंग थापा, आईजिपी श्यामभक्त थापा, रामेछापका तत्कालिन सिडीओ चुडामणी बस्याल, डिएसपी रामप्रसाद श्रेष्ठ, श्रम तथा यातायात राज्य मन्त्री कमल चौलागाईं, मेजर राममणि पोखरेल, रामेछाप जिल्ला सभापती धु्रव लामा र उप–सभापति रमेश बस्नेतविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
दाङको हापुरेमा तत्कालिन शाही मन्त्री नारायणसिंह पुनसहितका सरकारी अधिकारीसँग माओवादी नेता कृष्णबहादुर महरा लगायतका नेताहरु मध्यान्ह करिब साढे १२ बजे बैठक बार्ता बसिरहेकै बेला रामेछापको दोरम्बा गाविस वडा नम्बर–२ स्थित युवराज मोक्तानको घरमा एरिया समिति बैठक चलिरहेको थियो । मोक्तानको बैठक चलिरहेको घर शाही सेनाका मेजर राममणि पाखेरेलले घेरेर घरभित्र छिरेपछि जनसरकार प्रमुख बावुराम लामासहित २० जनलाई नियन्त्रणमा लिएपछि शाही मेजर पाखेरेलले डाँडाकटेरी लगेर आँखामा पट्टि बाँधेर लाईनमा राखेर गोली ठोकेको बताउँछन् तत्कालिन रामेछाप जिल्ला ईन्चार्ज हरि दाहाल ।
दाहालकाअनुसार त्यहाँ रहेका ३३ जनामध्ये आफूसहित ११ जना भागेर बाँच्न सफल भएको हो । उक्त हत्याकाण्डमा बावुराम लामा, अम्बिका दाहाल, प्रदिप दोङ, टेक बहादुर थापा मगर, ठुलोराम लामा, सानुराम लामा, लक्ष्मण मोक्तान, युवराज मोक्तान, लिला मोक्तान, चतुर्मान थामी, संगीता थामी, विष्णुमाया थापा मगर, हर्क घिसिङ, पदम राज गिरी, उमा केसी, श्याम बहादुर तामाङ, रवि चौहान र निशा थामी लगायत २२ जनाले ज्यान गुमाएका थिए ।
बिहीबार १४ जनाको परिवारले आयोगमा उजुरी दिएपनि बाँकीले जिल्ला स्थित शान्ति समितीमा उजुरी दर्ता गर्ने दोरम्बा हत्याकाण्डमा जीवनसंगिनी गुमाएका पीडित दाहालले बताए ।