२ असोज ०७४, काठमाडौं । कार्यकाल सकिनै लागेको संसद्ले संविधानसभाका सदस्यहरूलाई विशेष मर्यादा र पूर्वपदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने कानुन पारित गर्ने निश्चित भएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
आइतबार संसद्को राज्यव्यवस्था समिति अन्तर्गतको उपसमितिले कांग्रेस सांसद जीवनबहादुर शाही नेतृत्वको उपसमितिले पूर्वराष्ट्रपतिसहितका पूर्वपदाधिकारीलाई आजीवन विलासी सुविधा दिने प्रस्तावित विधेयकको प्रावधानलाई सामान्य परिमार्जनसहित पारित गरेको हो ।
पूर्वपदाधिकारी पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री/मन्त्रिपरिषद्का अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष/पूर्वसभामुख र राष्ट्रिय सभा अध्यक्षलाई विलासी सुविधा उपलब्ध गराउने विधेयकमा सहमति जुटाएको हो । पूर्वपदाधिकारीको परिभाषामा पूर्वसांसदलाई समेत समेट्ने गरी विधेयकमा सहमति जुटाइएको हो ।
– पूर्वराष्ट्रपतिलाई मासिक २ लाख घरभाडा र ५० हजार वृत्ति
– भूपूहरूलाई बहालवालासरह सचिवालय, सवारी र सुरक्षा
– पूर्वपदाधिकारीको परिभाषाभित्र पूर्वसांसद पनि
– संविधानसभा सदस्यलाई संघीय संसद् सदस्यसरह मर्यादाक्रम
– पूर्वसांसदलाई सरकारी अस्पतालमा नि:शुल्क औषधोपचार













