पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानले राजनीतिमा आउन पाइन्न भनेको छैन – देउवा

२१ भदौ ०८२, विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले यस्तो बताएका हुन् ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउँदा संविधानको औचित्य सकिएन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र)को उपाध्यक्षमा जिम्मेवारीसहित राजनीतिमा फर्किसकेका छन् भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किए पनि पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ ।