३० चैत्र ०७४, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पूर्व अधिकारीहरुको सुरक्षार्थ खटिएका प्रहरीलाई फिर्ता बोलाउन प्रहरी प्रधान कार्यालयलाई परिपत्र जारी गरेको छ ।
पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका सुरक्षाकर्मी मध्ये अधिकांशलाई घरमा कामदारको रुपमा राख्ने गरेको आरोप लाग्न थालेपछि गृहले ३ सय १५ जना प्रहरीलाई फिर्ता बोलाउन परिपत्र जारी गरेको हो ।
मन्त्रालयले सुरक्षा बाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बललाई पनि निर्देशन दिएको छ ।
गृहमन्त्रालयले शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सुरक्षा बाहेक अन्य काममा लगाइएका सशस्त्रका कर्मचारीलाई समेत तत्काल फिर्ता बोलाउन गृहले परिपत्र जारी गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहले यसअघि दिएको निर्देशनका आधारमा बहालवाला तथा पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय नभई खटिएका ४९ मध्ये ४२ जना नेपाल प्रहरी फिर्ता भइसकेका छन् ।
सशस्त्र प्रहरी बलका पनि करिब ५ सय सुरक्षाकर्मी, बहालवाला विशिष्ठ व्यक्ति, पूर्व पदाधिकारीको सुरक्षामा खटिएका छन् ।
बहालवाला अति विशिष्ठ एवम् पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय भए भन्दा बढी संख्यामा खटिएका ४५ जना नेपाल प्रहरीलाई समेत फिर्ता ल्याउन गृहले निर्देशन दिएको छ ।
दुबै प्रहरीले गृह मन्त्रालयलाई पठाएको विवरणमा कतिपय राजनीतिक दलका नेता, केही पूर्व गृहसचिव लगायतका घरमा सहयोगीको रुपमा सुरक्षाकर्मीलाई खटाइएको उल्लेख छ ।













