पेट्रोलियम मजदुरहरुको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन

११ जेठ ०७७, काठमाडौं । काठमाडौं उपत्यकाका करिब ४७ पेट्रोल पम्पहरुमा कार्यरत कर्मचारी र पेट्रोलियम मजदुरहरुको कोभिड–१९ पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

आइतबार नेपाल आयल निगम र अखिल नेपाल पेट्रोलियम पेट्रोलियम मजदुर संघको सहकार्यमा १३९ जनाको स्वाब सङ्कलन गरिएको हो ।

पेट्रोलियम मजदुर संघका केन्द्रीय अध्यक्ष शीव पोख्रेलले पेट्रोल पम्पहरुमा कार्यरत कर्मचारी, चालक, सहचालक, डिपोको सुरक्षामा खटिएका सुरक्षाकर्मी, निगमसँग प्रत्यक्ष सम्पर्कमा रहेका स्थानीय व्यक्तिहरूको थानकोटस्थित निगमको कार्यालयमा स्वाब सङ्कलन गरिएको जानकारी दिए ।

आज ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुको सहयोगमा १३९ (दश जना महिलासहित)को पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन भएको भन्दै उनले केही दिनभित्रै निगमका सबै कार्यालयहरुमा परीक्षण सम्पन्न गर्ने योजना निगमले बनाएको पनि बताए ।

अध्यक्ष पोखरेलले अर्को एक प्रसङ्गमा अत्यावश्यक उद्योगहरुमा काम गर्ने श्रमिकहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको सुरक्षा सामग्री उपलब्ध गर्नुको सट्टा उल्टो पेट्रोलियम व्यवसायीहरूले मजÞदूर कटौती गर्ने भनी दिएको गैरजिम्मेवार अभिव्यक्तिको खेद प्रकट गर्दै मजदुरहरुको रोजीरोटीसँग खेलवाड नगर्न चेतावनी समेत दिएका छन् ।