१५ फागुन ०७६, काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पु-याएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले फागुन १२ मा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वाधार विकास कर ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ पु-याएको बताएका हुन् ।
उनले अबदेखि पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइने बताएका छन् । सरकारले पूर्वाधार विकास कर बढाए पनि नेपाल आयल निगमले भने तत्काल पेट्रोल, डिजेलको मूल्य नबढाउने बताएको छ ।
पूर्वाधार विकास कर मार्फत् अहिलेसम्म ४१ अर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा भइसकेको र कर वृद्धि भएसँगै अनुमानित मासिक १ अर्ब ५० करोड रुपैयाँ सङ्कलन हुने आयल निगमले जनाएको छ ।













