रंगशालाको पुरानो संरचना भत्काउन सुरु

कास्की । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा गठित भीम शर्मा संयोजकत्वको समितिले पोखरा रंगशालाको पुरानो संरचना भत्काउन सुरु गरेको छ ।
पोखरा रंगशालाको फुटवल ग्राउण्ड नयाँ बन्ने भएपछि बुधबारदेखि समितिले पुरानो संरचना भत्काउन लगाएको हो ।
डेढ महिनामा भत्काइसक्ने गरी पोखरा रंगशाला भत्काउने जिम्मा जेभिए कन्सट्रक्सन काठमाडौंले लिएको छ । जेभिए कन्सट्रक्सनलाई ४२ लाखमा भत्काउने जिम्मा दिइएको हो ।
बुधबार विहानदेखि फुटवल मैदानको पूर्व पट्टीको दर्शक बस्ने प्याराफिट भत्काउन सुरु गरिएको छ ।
दर्शक बस्ने प्याराफिट भत्काईसकेपछि पश्चिम पट्टीको पाहुना बस्ने भिआइपी प्याराफिट भत्काउन सुरु गर्ने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।
प्याराफिट भत्काउन हाल १० जना मजदुर खटिएका छन् । डोजरको प्रयोग बिनानै मजदुर प्रयोग गरेर प्याराफिट भत्काउने काम भइरहेको छ ।
करिब ४ हजार दर्शक अटाउने क्षमताको पोखरा रंगशालाको फुटवल हेर्ने दर्शक प्याराफिट २०३८ सालमा निर्माण गरिएको थियो ।
२०७२ साल बैशाख १२ गते आएको भुकम्पबाट रंगशालाको दर्शक प्याराफिट चर्किएर जोखिमयु्क्त भएको र भिआइपी प्याराफिट बस्नै नमिल्ने भएर भत्किएपछि रातो स्टिकर टाँसिएको थियो ।
अन्तर्राष्ट्रियस्तरको नयाँ फुटवल रंगशाला बनाइने
पोखराको रंगशाला भित्र रहेको फुटवल स्टेडियमलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने योजनाअन्तर्गत हाल पुरानो संरचना भत्काउने कार्य भइरहेको छ ।
भत्काइसके लगत्तै अत्याधुनिक फुटवल स्टेडियम बनाउन सुरु गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।
उनका अनुसार नयाँ रंगशाला १ अर्ब ३३ करोडको लागतमा अत्याधुनिक तथा सुविधा सम्पन्न स्टेडियम बनाइने छ । नयाँ फुटवल स्टेडियम ३० हजार दर्शक क्षमताको हुने अध्यक्ष पौडेलले बताए ।
रंगशाला निर्माणका लागि ६ वटा कम्पनीलाई ग्लोबल टेण्डरबाट सूचिकृत गरिसकिएको छ ।
उनका अनुसार चीनको जेटिएसजे र कालिका जेभी नेपाल संयुक्त, चिनको कोवेक, भारतको महालक्ष्मी जेभी, चिनको हुनान तथा भारतको विकोई (संयुक्त), चिनको सिएमई कन्स्ट्रक्सन प्रोजेक्ट र भारतको ग्रेट स्पोर्टस् ईन्फा तथा फ्रान्सको अल्कोरलाई सूचिकृत गरिएको छ ।
नयाँ रंगशाला माघको अन्तिम साताबाट निर्माण गर्न शुरु गर्ने तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।













