पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाजको ह्‍विल लक हुँदा उडान प्रभावित

२७ चैत्र ०७४, कास्की । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाजको ह्विल लक भएपछि सबै उडान प्रभावित भएका छन् ।

विमानस्थलको रनवेमा जहाज ल्यान्डिङ गरी पार्किङ गर्ने क्रममा ह्विल लक भएर जहाज रन-वेमा रोकिँदा उडान प्रभावित भएको हो ।

रनवेमा रोकिएको जहाजलाई पार्किङ स्थलमा पुर्याएर उडान सञ्चालन गर्ने तयारी भइरहेको भए पनि त्यो सफल हुन नसकेको विमानस्थलका सूचना अधिकारी काशिनाथ पौडेलले जानकारी दिँदै  भने– ‘यहाँको प्राविधिक टोलीले लक खोल्न नसकेपछि तारा एयरको सानो जहाजमा  काठमाडौंबाट प्राविधिक टोली ल्याउने तयारी भइरहेको छ ।’

मर्मत तथा विमानस्थल सञ्चालन मंगलबार नै हुने भए पनि अझै केहिबेर लाग्ने प्राविधिकले जानकारी दिएका छन् । पोखरामा दैनिक ३५ उडान हुँदै आएको छ ।

तपाइको मत