पोर्ताहा र रम्पुरा मलहनियाँमा पक्की पुल निर्माण हुने, मन्त्री साहद्वारा शिलान्यास

१४ पुस ०७५, राजविराज । बर्षौदेखि खोला वारपार गर्न सास्ती खेप्दै आएका हनुमाननगर कंकालिनी नगरपालिकाको पोर्ताहा र रम्पुरा मलहनियाँका बासिन्दाको सास्ती अब अन्त्य हुने भएको छ ।

प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साह र हनुमाननगर कंकालिनी नगरपालिका प्रमुख शैलेस साहको पहलपछि स्थानियको बर्षौको सपना साकार हुन लागेको हो ।

पोर्ताहा र रम्पुरा मलहनियाँ दुवै स्थानमा शनिबार प्रदेश २ का सामाजिक विकास मन्त्री साहले पुलको शिलान्यास गरेपछि स्थानियमा खुशीयाली छाएको छ ।

दुर्गम स्थान मानिने रम्पुरा मलहनियाँबासीले पक्की पुल बन्ने खबरले राहत महसुस गरेको स्थानिय बासी एवम प्रध्यापक राम नारायण यादवले बताए । ‘हनुमाननगर , कुनौली र राजविराज सम्म पुग्न मलहनियाँ खोलामा पुल नहुँदा पैदल जान पनि कठिनाई थियो, उनले भने अव बाहै्रमास पैदल र सवारी साधन कुदाउन पुलले सहज बनाउने छ ।

प्रदेश २ का समाजिक विकास मन्त्री साहले ज्यान हत्केलामा राखेर नदी खोला तर्नुपर्ने बाध्यता पुल बनेपछि हटेर जाने बताए । पुलले पोर्ताहा र रम्पुरा मलहनियाँका मात्र नभई आसपासका २ नगरपालिका र ३ गाउँपालिकाका व्यक्ति लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।

मन्त्री साहले केन्द्र सरकारले मधेशको उपेक्षा गरीरहेकाले अव प्रदेश सरकारले मधेशको सम्मुनत विकासका लागि विशेष पहल गर्ने बताउँदै प्रदेश सरकारले हरेक खेतमा पानी, हरेक घरमा बिजुली लगायतका जनमुखी कार्यक्रमको खाका तयार परेको र चाँडै कार्यान्वयनमा आउने जानकारी दिए ।
त्यस्तै मन्त्री साहले शिक्षा आर्जनका लागि रम्पुरा मलहनियाँमा छिटै प्राथमिक स्तरको विद्यालय स्थापना गरिने उनले प्रतिबद्घता पनि जनाए ।

स्थानिय सडक तथा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ती दुई पुल निर्माणका लागी २ करोड बजेट बिनियोजन गरेको नगरप्रमुख साहले बताए । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ७० र हनुमाननगर कंकालिनी नगरपालिकाको ३० प्रतिशत अनुदान सहयोग रहेको छ ।

उक्त दुवै पुलको निर्माण कार्य यसै आर्थिक वर्ष भित्रै सक्ने लक्ष्य रहेको प्रमुुख प्रशासकीय अधिकृत सुरेन्द्र यादवले जानकारी दिए ।

तपाइको मत