पोलिमर नोट छपाइ अनियमिततामा पूर्वगभर्नरसहित तीनै जनाले पाए सफाई

३१ असार ०७७, काठमाडौं । विशेष अदालतले पोलिमर नोट छपाइमा अनियमितता आरोप लागेका पूर्वगभर्नर डा. तिलक रावलसहित तीन जनालाई सफाई दिएको छ ।

न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको इजलासले शङ्काकै आधारमा दोषी ठहर गर्न नमिल्ने भन्दै रावलसहित नेपाल राष्ट्र राष्ट्र बैङ्कका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र नोट प्रिन्टिङ अष्ट्रेलियाका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई सफाइ दिएको हो ।

पाँच करोड थान १० रुपियाँका पोलिमर नोट छपाइमा अनियमितता भएको अभियोगमा अख्तियारले २०७५ पुस ५ गते मुद्दा दायर गरेको थियो ।

अख्तियारले तीनै जनामाथि गुणस्तरहीन नोट छपाइ गरेको, स्थानीय एजेन्टमार्फत् आर्थिक लाभ लिएको, बोलपत्रको सूचना तथा गोप्य दस्तावेजसमेत चुहाउने गरी पत्राचार भएको, परल मूल्यभन्दा चार डलर थप मूल्य बढाएर सम्झौता गरेको आरोप लगाएको थियो ।