प्रचण्डको अनुपस्थितिमा चौलागाईं अष्ट्रेलिया कार्यक्रममा सहभागी हुने

८ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बुधबार हुने भनिएको अष्ट्रेलिया भ्रमण उडान भर्ने केही घण्टा अघि मात्रै स्थगित भएको छ । अब प्रचण्डको अनुपस्थितिमा विदेश विभाग सदस्य युवराज चौलागाईं अष्ट्रेलियाको कार्यक्रममा सहभागी हुनेछन् ।

deuba-prachanda

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विशेष राजनीतिक परिस्थितिका कारण अष्ट्रेलिया नजान भनेकाले बुधबार बिहान भ्रमण स्थगित गरिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

तर, स्रोतका अनुसार अष्ट्रेलियाको कानुन बेलायतको जस्तै कडा भएकाले नेपाली सेनाका कर्णेल कुमार लामा पक्राउ परे जस्तै पक्राउ पर्ने अड्कलबाजीले पनि भ्रमण स्थगन  भएको हो । सन् २०१३ मा कर्णेल लामालाई बेलायतको महानगरीय प्रहरी अन्तर्गतको टेरोरिज्म कमाण्डले युद्ध अपराध तथा गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनको आरोपमा पक्राउ गरेको थियो ।

अर्को तर्फ, बुधबार बिहान प्रधानमन्त्री ओलीले प्रचण्डसँग भएको भेटमा यति लामो समयसम्म देश बाहिर नजान भनेकाले भ्रमण स्थगित गरिएको बताइएको छ ।

अष्ट्रेलिया भ्रमण गर्नु अघिको भेटघाट भन्दै प्रचण्ड र देउवाबीच बुधबार बिहान भेटघाट समेत भएको थियो । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतीशिल मञ्चको तेस्रो अधिवेशनको कार्यक्रममा सहभागी हुन प्रचण्ड आठ दिन लामो अस्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम थियो ।

 

तपाइको मत