१८ पुस ०७४, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरु तयार रहेको बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा लेखकले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरु तयार रहेको बताएका हुन् ।
नेता लेखकले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएको, प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नभएको अवस्थामा अहिल्यै कसको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट भइनसकेको बताए ।
जनताले वाम गठबन्धनको पक्षमा जनमत दिएकोले एमाले र माओवादीले सरकार बनाउँदा राम्रो हुने बताए । तर उनले एमाले र माओवादीबाहेक पनि सरकार बन्न सक्ने सम्भावना रहेको सुनाए ।
उनले निर्वाचनमा कुनै एक नेताको कारणले मात्रै पार्टी पराजित नभएको पनि दाबी गर्दै उनले भने, ‘कांग्रेसले विगतमा पनि सरकारको नेतृत्व गरेको बखत् निर्वाचनमा हार व्यहारेको छ, हार्नुको कारणको खोजी हुन्छ ।’ लेखकले एक जना नेताको गुण र दोषको आधारमा निर्वाचन नहारेको भन्दै समग्रबारेमा केन्द्रीय कार्यसमिति बैठक आहृवान गरेर समीक्षा गरिने बताए ।













