काठमाडौं । कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ ।
एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो ।निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ ।
प्रचण्डलाई फकाउन उसले ‘प्रलोभन’ देखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा देखाएर खबरदारीसमेत गर्न थालेको छ ।
दाहाललाई कांग्रेसले आगामी पाँच वर्षका लागि प्रधानमन्त्री बन्न ‘अफर’ मात्रै गरेको छैन, द्वन्द्वकालको मुद्दा कांग्रेस-माओवादीले मात्रै टीआरसीमार्फत टुंगो लगाउन सक्नेसम्मको प्रस्ताव पठाएको छ ।
दाहालले वाम गठबन्धनमै रुचि देखाएमा टीआरसीको मुद्दामा माओवादी नेताहरू अन्तर्राष्ट्रिय अदालतमा तानिने घुमाउरो भाषामा कांग्रेस नेताहरूले प्रेसर दिएको स्रोतले बतायो ।
दाहाल के गर्दा फकिन्छन्, त्यही अस्त्रको प्रयोग अहिले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले गर्न खोजेको छ । ‘वाम एकता टुटाउन अनेक तिक्डम र प्रयास जारी नै छन्,’ माओवादी केन्द्रका नेता मणि थापाले भने, ‘तर जतिसुकै कोसिस गरे पनि त्यस्तो योजना सफल हुने देखिँदैन ।’
एमाले-माओवादीबीच पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको, नेताहरूको पदीय व्यवस्थापनमा अझै ठोस प्रगति हुन नसकेको र नयाँ सरकार गठनका लागि अझै महिना दिन लाग्ने देखिएपछि लोकतान्त्रिक गठबन्धनले आफ्नो ‘मुभ’ बढाएको हो । एमाले-माओवादीमा देखिएको अलमलमा खेल्न सकिने विश्वासमा लोकतान्त्रिक गठबन्धन देखिन्छ ।
सोमबार मात्रै पनि दाहालको ‘मुड’ बुझ्न र एमालेसँगको गठबन्धन टिकाउ नहुने सन्देश दिन राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो र कांग्रेस सांसद अमरेश सिंह दाहालनिवास खुमलटार पुगेको आजको अन्नपूर्णपोष्टमा खबर छ ।