१ फागुन ०७७, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (ओली समूह)ले शनिबार लुम्बिनी प्रदेशको बुटवलमा शक्ति प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै विभाजित भएको नेकपा ओली समूहले बुटवलमा शक्ति प्रदर्शन गरेको हो ।
माघ २३ गते काठमाडौंमा सभा गरेको ओली समूहले आज बुटवल ७ स्थित सिद्धेश्वर माविको मैदानमा आयोजना गरेको सभालाई ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।
प्रचण्ड–माधव समूहलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले बुटवलमा जनसभा हेर्न आउन निम्ता दिए ।
उनले भने, ‘तीन दिन अगाडिमात्रै देशभरिबाट केही मान्छे जम्मा गरेर मलाई जनसभा हेर्न आउ भनेका थिए’ ‘देशभरिको होइन, लुम्बिनी प्रदेशका मात्रै जनता आएका छन्, जनसभा कस्तो हुन्छ हेर्न बुटवल आउनुस् ।’
उक्त सभालाई ओली समूहका महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी र उद्योगमन्त्री लेखराज भट्ट साथै मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरेका थिए ।