१८ बैशाख ०७८, काठमाडौं । आज मे १ अर्थात् १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपाली ट्रेड युनियनहरुले कोभिड-१९ का कारण प्रविधिको प्रयोग गरेर शुभकामना आदनप्रदान गर्दै मई दिवस मनाइरहेका छन् ।
अमेरिकाको सिकागो सहरका श्रमिकहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नारा लगाउँदै गरेको आन्दोलनमाथि तत्कालीन शासकद्वारा भएको भीषण दमनपछि प्राप्त सफलताको स्मरण गर्दै मई दिवस मनाएका हुन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघले निषेधाज्ञा भएका जिल्लाहरुमा प्रविधिको प्रयोग र निषेधाज्ञा नरहेका जिल्लाहरुमा स्वास्थ्य मापदण्ड पालना गरेर मई दिवस मनाइरहेको जानकारी दिएको छ ।
महासंघका केन्द्रीय उपाध्यक्ष जय कार्कीले केन्द्रीय कार्यक्रम जुम एप्समार्फत् भर्चुअल्ली हुने जानकारी दिँदै उक्त कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने बताए ।
मई दिवसको विशेष अवसरमा अपरान्ह १२ बजे हुने सो भर्चुअल कार्यक्रममा महासंघका फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको विशेष आतिथ्यता साथै अन्टुफ अध्यक्ष एवम् बागमती प्रदेश सांसद जगत सिम्खडाको अध्यक्षता रहने पनि उपाध्यक्ष कार्कीले बताए ।
आज बिहानै अन्टुफले एक सन्देश जारी गरेर अग्रगामी शक्तिहरू एकजुट भई प्रतिगामी, अवसरवादी र उपभोक्तावादी प्रवृत्तिविरुद्ध क्रान्तिकारी मजदुर आन्दोलनलाई पुनर्गठन गर्न अघि बढ्नु पर्नेमा जोड दिँदै आम श्रमजीवीवर्गको उज्वल भविष्यका लागि मई दिवसको शुभकामना व्यक्त गरेको छ ।
अन्टुफ अध्यक्ष जगत सिम्खडाले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “हाम्रो संगठन रोजगारदाता र सरोकारवाला निकायहरुलाई कोभिड-१९ को बहानावाजी वा श्रम ऐनको दफा १४५ लगायत मजदुरविरोधी दफाको अनुचित प्रयोग गरेर मजदुर निश्कासन गरिने कार्य तत्काल रोक्न र तत्काल राहत प्याकेज घोषणा गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा योजना पूर्ण कार्यान्वयन गर्न, गराउन साथै श्रमिकको न्यूनतम् पारिश्रमिक बृद्धिका लागि गैरजिम्मेवार नबन्न आग्रह गर्दै मजदुरवर्गीय सोच र जीवन व्यवहारबाट मात्रै “संसारका मजदुरहरु एक होऔँ ” नाराले सार्थकता पाउने कुरामा विश्वास राख्दै अग्रगामी शक्तिहरू एकजुट भई प्रतिगामी, अवसरवादी र उपभोक्तावादी प्रवृत्तिविरुद्ध संघर्ष गर्दै क्रान्तिकारी मजदुर आन्दोलनलाई पुनर्गठन गर्न अघि बढौं भन्ने अपीलसहित आम श्रमजीवीवर्गको उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु ।”
यस्तै नेपाली ट्रेड युनियनहरुको छाता संगठन ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)ले शुक्रबार नै विज्ञप्ति जारी गरेर आम श्रमजीवी मजदुरहरुलाई मई दिवसको शुभकामना दिँदै सरकारसँग ऐनमा लिपिबद्ध भएका मजदुरका अधिकार कार्यान्वयन गर्न साथै मजदुरहरुलाई कोरोना कहरमा राहत दिन समेत माग गरेको छ ।