१५ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफूहरुलाई सडकमा आउन बाध्य पारिएको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले काम चलाउ सरकारका प्रधानमन्त्री बनेका प्रधानमन्त्री केपी ओलीको तानाशाही कदमले नेपाली जनताको हक अधिकारलाई खोसेपछि सडकमा आउन बाध्य भएको बताएका हुन् ।
‘केपी ओलीले संविधानमाथि बलात्कार गर्ने काम गरेका छन्, लोकतन्त्रमाथि प्रहार गरेका छन् । यसले गर्दा सडकमा आउन बाध्य भएका छौं,’ उनले भने, ‘ओलीले असंवैधानिक, प्रतिगामी कदम, प्रतिक्रान्तिकारी कदम चालेका छन् त्यसका विरुद्धमा हामीहरु सडकमा उत्रिएका हौँ ।’