२० पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले कम्युनिष्ट पार्टीले नै नेपालमा समाजवाद उन्मुख जनताको जनवाद स्थापना गरेको भन्दै यहीँ पूर्णविरिाम लगाउन नसक्ने बताएका छन् ।
सोमबार काठमाडौंको बुद्धनगरमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाले गठन गरेको संघर्ष परिचालन समितिका संयोजक समेत रहेका नेता श्रेष्ठले ‘राजनीतिक परिवर्तनमामात्रै सीमित नरहेर सामाजिक तथा आर्थिक परिवर्तन दिन सकियोस् यो हाम्रो तात्कालीक लक्ष्य भए पनि आधारभूत समस्याहरु समाधान भएको, जनताले अनुभूति गर्न पाउने गरी विकास र समृद्धि गर्ने समाजवादी विकासको ढाँचा अगाडि बढाउन जरुरी’ रहेको बताए ।
सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गरेर समाजवादी क्रान्ति पूरा गर्ने, नेपाली समाजको आमूल परिवर्तन गर्ने क्रान्तिकारी उद्देश्यसहित पार्टी एकता गरिएको भन्दै उनले भने, ‘महान संघर्ष गरेर नयाँ संविधान बनायौं, कम्युनिष्ट पार्टीकै प्रधानमन्त्रीबाट राजनीतिक उपलब्धिलाई अपहरण गर्ने, संविधानमाथि आक्रमण गर्ने, प्रहार गर्ने कार्य भएको छ ।’
उनले संविधानमाथि आक्रमण गर्ने, राजनीतिक उपलब्धिलाई खोस्न चाहने प्रवृत्तिकाविरुद्ध अब निर्ममतापूर्वक संघर्षमा होमिनुको विकल्प नरहेको पनि बताए ।
‘नेपाली जनताले लडेर ल्याएको राजनीतिक उपलब्धि र संविधानमाथि प्रहार भएको छ, संविधानलाई आक्रमण गर्ने, लोकतन्त्रलाई हत्या गर्ने खोज्ने असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र निरंकुश कदमलाई संघर्ष गरेर असफल पार्नु आजको आवश्यकता हो’ प्रवक्ता श्रेष्ठले भने ।