१४ जेठ ०७७, काठमाडौं । प्रतिनिधिसभा बैठकले ‘रेडियोधर्मी पदार्थको उपयोग नियमनसम्बन्धी विधेयक, २०७६’ स्वीकृत गरेको छ ।
राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त सो विधेयक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संशोधनमाथि विचार गरियोस् भनी प्रस्तुत गरेका थिए भने बहुमतले स्वीकृत गरेको हो ।
संशोधनमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पोखरेलले विकीरणबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न अति जरुरी भएको र पारामाणिक पदार्थको नियमन तथा रेडियोधर्मी पदार्थको सुरक्षा, अनुसन्धान र नियमनका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई समेत ध्यान दिएर विधेयक ल्याइएको बताएका थिए ।
यस्तै आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७७’ र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेका थिए ।