२५ साउन ०७९, काठमाडौं । प्रतिनिधिसभाबाट पद तथा गोपनीयताको सपथसम्बन्धी विधेयक २०७९ पारित भएको छ ।
राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सपथसम्बन्धी विधेयक २०७९ बुधबार बसेको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।
सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको सपथ लिने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले संघीय संसदले सो ऐन बनाएको हो ।
ऐन कार्यान्वयनमा आएसँगै अब सपथ लिने व्यक्तिले ईश्वरको नाममा वा देश र जनताको नाममा सपथ लिनसक्ने छन् ।
यसअघि राष्ट्रपति विद्या भण्डारी समक्ष सपथ लिँदै गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्दलाई उच्चारण नगरी ‘त्यो पर्दैन’ भनेपछि उनको त्यो सपथ र व्यवहारको चर्को आलोचना भएको थियो ।
आज संघीय संसदबाट पारित भएको विधेयकको अनुसूचीमा राखिएको पद तथा गोपनीयताको ढाँचामा पनि ‘प्रतिज्ञा गर्दै’ भन्ने शब्द राखिएको छ ।














