२३ पुस ०७७, कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य योगेश भट्टराईले विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुने बताएका छन् ।
बिहीबार पोखरामा प्रचण्ड–माधव समूहमा आवद्ध जनवर्गीय संगठनहरुको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुने बताएका हुन् ।
उनले २०१७ सालको संसद विघटनलाई फर्काउन ३० वर्ष साथै ०६०/६१ सालको संसद फर्काउन तीन वर्ष लागेको तर अहिले ओलीले विघटन गरेको संसदलाई बढीमा तीन महिना लाग्ने दावी गरे ।
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ धकेलेको भन्दै नेता भट्टराईले ओलीलाई भारतीय नेत्री इन्दिरा गान्धीको जस्तै उन्माद चढेको आरोप लगाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्दिरा गान्धीको इतिहास पढ्न सुझाउँदै उनले भने, “इन्दिरा गान्धीले संसद विघटन गरिन् । त्यसपछि उनको पत्तासाफ भयो । अहिले प्रधानमन्त्रीलाई सत्ता र शक्तिको उन्माद चढेको छ । पार्टीमा हुँदा पार्टीको महत्व बुझ्नुभएको छैन, जुनदिन महत्व बुझ्नुहुन्छ त्यो दिन उहाँ पार्टीमा हुनुहुने छैन ।”