२८ साउन ०८२, काठमाडौं । बुधबार २ सय ७५ सदस्यीय प्रतिनिधिसभा बैठकमा ६६ जना सांसद मात्रै उपस्थित रहेको पाइएको छ ।
सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा नेकपा (माओवादी केन्द्र)की सांसद ज्ञानु बस्नेत सुवेदीले गणपुरक संख्या रहे/नरहेको यकिन गर्न माग गरेसँगै उपस्थित सांसद ६६ रहेको पाइएको हो ।
सांसद सुवेदीको मागअनुसार सभामुख घिमिरेले तीन मिनेट घण्टी बजाएर सांसद् कति जना सभामा उपस्थित छन् भनेर गणना गरेर एकीन गर्दा एक चौथाइ सांसद पनि संसदमा उपस्थित नहुँदा प्रतिनधि सभाको बैठक स्थगित भएको हो ।
संविधानको धारा ९४ मा कुनै पनि प्रतिनिधि सभामा निर्णयार्थ पेस गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्छ ।
सभामुख घिमिरेले एक चौथाइ सांसद पनि संसदमा उपस्थित नरहेको एकीन भएपछि सभाका बाँकी कार्यसूची स्थगन गर्दै अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाएका छन् ।













