१३ पुस ०७७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले २१ पुसदेखि ७ माघसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन फर्काएको भन्दै जसपाले आज सोमबार देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
‘सरकारलाई संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भंग गरिएको कार्य असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्य हुन्,’ जसपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताले गरेको संघर्ष, त्याग र बलीदानबाट प्राप्त उपलब्धिहरूको संघीयता लोकतान्त्रिक गणतन्त्र, समावेशीकरण, धर्म निरपेक्षता, नागरिक स्वतन्त्रता मौलिक हक धरापमा पारिएका छन् ।’
सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज गराउन जनसंघर्षलाई चरणबद्ध अघि बढाउने पनि विज्ञप्तिमा उल्लेख छ ।