९ फागुन ०७४, काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ अधिवेशन सुरु हुने अघिल्लो दिन गराउने तयारी गरेको छ ।
संघीय संसद् सचिवालयले संघीय संसद्को अधिवेशन सुरु हुने अघिल्लो दिन फागुन २० मा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ गराउने तयारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन फागुन २१ का निम्ति आहवान गरिसकेकी छिन् ।
सचिवालयका प्रवक्ता भरत गौतमले एकै दिन फरक–फरक समयमा दुवै सभाको शपथ कार्यक्रम तय गरिएको बताए । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ सदस्य छन् । कानुनअनुसार दुइटै सभाको सुरुको अध्यक्षता सम्बन्धित सभाका ज्येष्ठ सदस्यले गर्नेछन् ।













