८ माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरूले प्रतिनिधिसभा विघटनको विरोध गर्दै बिहीबार साँझ मसाल जुलुस निकालेका छन् ।
प्रचण्ड–माधव समूहको नेकपा समर्थित युवाहरुले प्रतिनिधिसभा विघटनको विरोध गर्दै माघ ९ गते (भोलि) हुने विरोध प्रदर्शन तथा सभा कार्यक्रमको पूर्वसन्ध्यामा बानेश्वर क्षेत्रमा मशाल जुलुस निकालेका हुन् ।
आजै दिउँसो नेकपाको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरबाट कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी कदम चालेकाले तत्काल राजीनामा दिन माग गर्दै युवाहरुले खुला आकासमा हावा भरिएको कालो वेलुन उडाएर विरोध जनाएका थिए ।
नेकपा प्रचण्ड–माधव समूहले भोलि (शुक्रबार) संसद विघटनको विरोधमा काठमाडौंमा प्रदर्शन तथा सभा गर्दैछ । सो कार्यक्रममा सहभागी हुन नजिकका उपत्यका वरपरका जिल्लाबाट समेत नेकपाका समर्थकहरु सहभागी हुन आउनेक्रम जारी छ ।