प्रतिनिधिसभा विघटन देश र जनतामाथिकाे विश्वासघात -ज्ञवाली

११ माघ ०७७, रूपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगामी, राष्ट्रघाती भएको आरोप लगाएका छन् ।

प्रचण्ड-माधव समूहको लुम्बिनी प्रदेशस्तरीय संघर्ष समितिले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा विघटन देश र जनतामाथिकाे विश्वासघात भन्दै उनले भने, ‘प्रतिनिधि सभा विघटन गरेर ओलीले एकैपटक कम्युनिस्ट पार्टी, गणतन्त्र र राष्ट्रियतामाथि ठूलो प्रहार गरेका छन्, उनको कदम केशरजंग रायमाझीको भन्दा बढी प्रतिगामी र जनघाती छ ।’

उनले प्रधानमन्त्रीका प्रयासलाई असफल पार्ने दाबी गर्दै संसद विघटनसम्बन्धी भइरहेको बहसबारे अदालतको काम संविधान संशोधन गर्ने नभएर संविधानकाे व्याख्या गर्ने भएको बताए ।