२७ पुस ०७७, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले जनतालाई सरकारले नै सडकमा गएर विद्रोह गर्न आह्वान गरेको बताएका छन् ।
संविधानसभा सदस्य मञ्च नेपालले सोमबार राजधानीमा गरेको अन्तरक्रियामा कार्यक्रममा ढुंगानाले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभा विघटन गरेपछि सुरुभएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन हठात अन्त्य गरिएको भन्दै पूर्वसभामुख ढुंगानाले भने, “एउटा सभा विघटन गर्ने, अर्को बल्लबल्ल सुरुभएको छ, त्यसलाई पनि स्थगित गर्नु सडकमा जाउ भनेको होइन ? सरकारले नै जनतालाई सडकमा जाउ, विद्रोह गर भनेको छ ।”
यस्तै सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई सदर गर्ने हो भने संविधान खारेजको फैसला पनि एकसाथ सुनाउनु पर्ने भन्दै उनले भने, “संविधासभाका सदस्यहरु र हामी नागरिकले भन्नुपर्छ, हे श्रीमान ! तपाईहरुको फैसलालाई हामी अन्यथा भन्न सक्दैनौं, शिरोपर गर्छौं । यो प्रतिनिधिसभा विघटनलाई मात्र सदर गर्ने होइन, संविधान पनि बदर गरिदिनुस् । किनभने, यो संविधानसभामाथिको प्रहार हो, संविधानमाथि प्रहार हो, प्रतिगमन नै हो ।”
कार्यक्रममा ढुंगानाले प्रतिनिधिसभा जबरजस्ती विघटन गरिएकाले संविधानअनुसार सर्वोच्च अदालतले संसद ब्यूँताउनु पर्नेमा जोड दिएका थिए ।