कार्यकारी प्रमुखको मुद्धा नमाने जनताको बीचमा जान्छौं – प्रचण्ड

२३ साउन ०७४, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्धा चर्काउने भन्दै त्यसका लागि जनताको बीचमा जाने बताएका छन् ।

काठमाडौंमा आयोजित पार्टीको ४ नम्वर प्रदेशका अगुवा कार्यकर्ताको  प्रशिक्षणमा अध्यक्ष दाहालले संविधानको प्रभावकारिता, संघीयताको सन्तुलन, राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी हुनैपर्ने बताएका हुन् ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा अरु दललाई मनाउन प्रयास गर्ने तर नमाने जनताको बीचमा जाने उद्घोष गरे ।  अहिलेको निर्वाचन प्रणालीमा  धेरै नै आर्थिक विकृति निम्तिएको भन्दै उहाँले अब बिकल्प खोज्नुपर्ने बताए ।

अध्यक्ष दाहालले भन्नुभयो– निर्वाचनमा यति धेरै विकृति आइसक्यो कि मध्यम वर्गका मान्छे पनि चुनाव लड्न नसक्ने भए । यसको अन्त्यका लागि पार्टीहरु बीच प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ ।  एमाले लगायतका दललाई संघीयता घांडो भएको आरोप लगाउँदै उहाँले गणतन्त्र र  समावेशी–समानुपातिकता पनि मन नपरेको जिकिर गरे ।

अध्यक्ष दाहालले पार्टीमा वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र कार्यशैलीमा डरलाग्दो ढंगले ह्रास आएको टिप्पणी गरे ।

तपाइको मत