प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन, भदौ ५ गते मिति घोषणा हुने

१ भदौ ०७४, काठमाडौं । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एमाले बीच प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै दिन गर्न सहमत भएका छन् ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख तीन दलको बैठकमा शीर्ष नेतृत्वहरु दुई निर्वाचन एकै दिन गर्न सहमत भएका हुन् ।

तीन दलले बिहीबार निर्वाचन आयोगका पदाधिकारीसँग कानुनी प्रावधान र प्राविधिक विषयमा छलफल गर्ने भएका छन् ।

एमाले नेता सुवास नेम्वाङले आगामी मंसिर १५ गते भित्र दुबै तहको निर्वाचन गर्न सत्ता पक्ष र प्रतिपक्षबीच सहमति भएको बताए । ‘यो सहमति कार्यान्वयन आउँदा माघ ७ गते भित्र संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु हो’ नेता नेम्वाङले भने ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले तीन दल प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै दिन गर्ने सहमतिमा पुगेको जानकारी दिँदै भने, ‘मंसिर तेस्रो साता भित्र यी दुबै तहको चुनाव एकै दिन हुनेछ।’

प्रधानमन्त्री देउवाले तीन दलको बैठक लगत्तै बुधबार नै आह्वान गरेको सर्वदलीय बैठकमा दुवै निर्वाचन मिति घोषणा भदौ ५ गते गर्ने प्रतिबद्धतना जनाएका छन् ।

तपाइको मत