प्रदेश नं.४ बाट राष्ट्रियसभामा उम्मेदवारी मनोनयन गरेका उम्मेदवार विरुद्ध उजुरी

१२ माघ ०७४, पोखरा । माघ २४ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा अपांग कोटाबाट उम्मेदवारी मनोनयन गरेका प्रदेश नं. ४ उम्मेदवार विरुद्ध उजुरी परेको छ ।

एमालेकोबाट अपाङमा उम्मेदवारी दिएका स्याङजाका रामबहादुर थापाविरुद्ध सोही कोटाबाट कांग्रस उम्मेदवार तनहुँका प्रकाश पन्थले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन ।  थापा स्याङजा जिल्ला विकास समितिका पूर्व सभापति हुन ।

उजुरीमा थापाको अपांगता परिचय पत्र पुरानो भएकाले मान्यता दिन नहुने भन्दै उम्मेदवारी बदरको माग गरिएको छ । थापासँग २०५७ मा लिएको अपांगता परिचयपत्र रहेको र पछिल्लो निर्देशिका अनुसारको नयाँ कार्ड नभएकाले पुरानोको मान्यता नहुने जिकिर पन्थले गरेका छन् ।

आफुबिरुद्ध उजुरी परेपछि थापाले सोही परिचयपत्रका आधारमा अहिलेसम्म राज्यका निकायबाट पाईने सुविधा लिएको, नयाँ निर्देशिका अनुसार नयाँ कार्डकालागि प्रक्रियामा रहेकाले ढिलाई भएको भन्दै सफाई पाउनुपर्ने माग गर्दै कागजात पेश गरेका छन् । उनले शुक्रबार नयाँ परिचयपत्रको कार्ड पनि बनाएर बुझाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।

‘उजुरीका बारेमा शनिवार निर्वाचन आयोगले अन्तिम निर्णय गर्नेछ,’ क्षेत्रीय निर्वाचन अधिकारी तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुगमन अधिकृत तोकिएका गंगालाल सुवेदीले भने, ‘सबै कागजात केन्द्रमा पठाएका छौं ।’

 

तपाइको मत