२१ माघ ०७४, काठमाडौं । प्रदेश नं. ५ प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले फागुन २ गते सभामुखको निर्वाचन गर्ने निर्णय गर्दै प्रदेशसभा बैठक सकिएको छ ।
प्रदेशसभाको पहिलो बैठकले सभामुखको निर्वाचन फागुन २ गते दिउँसो १ बजे गर्ने निर्णय गर्दै प्रदेशसभा बैठक सकिएको हो ।
बैठकले आफ्नो अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको हो । समितिमा एमालेका कमलराज श्रेष्ठ, माओवादीका दधिराम न्यौपाने, कांग्रेसका अष्टभूजा पाठक र राष्ट्रिय जनमोर्चाका तारा जिसी छन् ।
प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलको अध्यक्षतामा बैठक भएको हो । बैठकमा सभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट एक/एक जना सदस्यले बोलेका थिए। उनीहरुले संघीयता र संवृद्धिका लागि सबै दल एक भएर लाग्ने प्रतिवद्धता जनाए ।
दलका तर्फबाट एमालेका संसदीय दलका नेता शंकर पोखरेल, माओवादी केन्द्रका कुलबहादुर केसी, कांग्रेसका बीरबहादुर राना, संघीय समाजवादी फोरमका सहश्रराम यादव र राष्ट्रिय जनमोर्चाका तारा जीसीले बोलेका थिए।
राजपाका तर्फबाट सांसद बनेकी विना पन्तले भने सपथ ग्रहण नै नगरेकालेउपस्थिति रहेन । प्रदेश ५ का १२ जिल्लाका ८७ सांसद छन् । यसमध्ये बैठकमा ८६ सांसदको सहभागिता थियो।
त्यस्तै, प्रदेश नं.२ प्रदेशसभाको बैठकले अगामी फागुन २ गते सभामुखको निर्वाचन तोकेको छ । जेष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा आइतवार सम्पन्न प्रदेशसभाको बैठकले सभामुख निर्वाचनको कार्यतालिका पारित गरेको हो ।
पहिलो सभालाई संघीय समाजवादी फोरमका लालबाबु राउत, राजपाका जितेन्द्र सोनल, कांग्रेसका रामसरोज यादव, माओवादी केन्द्रका भरत साह, एमालेका शत्रुघन महतो र सत्य नारायण मण्डल, समाजवादी पार्टी, नेपालकी सावित्री देवी साह र स्वतन्त्र सांसद शेख अब्दुल कलाम आजादले सम्वोधन गरेका थिए । अर्को बैठक माघ २९ गते बस्नेछ ।













