प्रदेश नं ७ को राजधानी दिपायललाई बनाउन माग गर्दै ज्ञापनपत्र

२० पुस ०७४, काठमाडौँ ।  प्रदेश नं ७ को राजधानी डोटीको दिपायललाई बनाउन माग गर्दै विभिन्न दलका नेता कार्यकर्ताले प्रमुख दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाई दबाब दिएका छन् ।

विभिन्न दलका नेता कार्यकर्ताले आज काठमाडौँमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले उपमहासचिव विष्णु पौडेललाई भेटी ज्ञापनपत्र बुझाएका हुन ।

डोटीका प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगरले ज्ञापनपत्रमा राणाकालीन समयदेखि नै दिपायल सुदूरपश्चिमको केन्द्र रहेको र सबै जिल्लाको समदुरीमा रहेकाले दिपायललाई नै हाललाई अस्थायी प्रादेशिक राजधानी तोक्नुपर्ने माग गरिएको बताए ।

ज्ञापनपत्रमा अन्नको भण्डारका रुपमा रहेको तराईको सीमित भू–भागमा हुने तीव्र बसाइँसराइ, वैदेशिक सुरक्षा संवेदनशीलता, संघीयताको आधारभूत मूल्यमान्यताले पनि दिपायल सामरिक महत्वको क्षेत्र भएको उल्लेख छ ।

डोटीका विभिन्न दल सम्मिलित नेता कार्यकर्ताले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीलाई घोषणा गर्ने तयारी भइरहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

ज्ञापनपत्रमा प्रतिनिधिसभा सदस्य एवं एमाले नेता आलेमगर, काँग्रेस महासमिति सदस्य एवं डोटी (क) प्रदेशसभा सदस्य भरतबहादुर खड्का, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं डोटी (ख)का प्रदेशसभा सदस्य त्रिलोचन भट्ट लगायतको हस्ताक्षर रहेको छ ।

 

तपाइको मत